Website Revision Under Progress !

पोखरी उत्खननद्वारा पहिरो, बाढी, डढेलो तथा प्रदूषणको न्यूनीकरण

पोखरी उत्खननद्वारा पहिरो, बाढी, डढेलो तथा प्रदूषणको न्यूनीकरण

नेपाल सेन्टर फर डीजास्टर मेनेजमेन्ट (एनसडीएम)
मासीक ईबुलेटीन
जुन, २०२१

यस अंकको मुख्य आकर्षण

पोखरी उत्खननद्वारा पहिरो, बाढी, डढेलो तथा प्रदूषणको न्यूनीकरण

प्रा. डा. जीवराज पोखरेल

१.०. परिचय
नेपालमा हरेक वर्ष बाढी, पहिरो, डढेलो तथा प्रदुषणले ठूलो जन तथा धनको हानी हुने गरेको छ । गत वर्ष २०७७ सालमा पहिरोबाट मात्र ३०१ जनाको निधन भएको थियो भने रु ५० करोडको क्षति भएको थियो । त्यसै गरेर बाढीबाट पनि ७२ मानिसको अवसान भएको थियो । डढेलोले सन १९७० देखि २०१३ सम्ममा ७१ जना र सन २००९ मा ३३ जनाको मरण भएको छ । डढेलोले विद्यमान प्रदुषण झन बढेर बाहिर आवत जावत गर्न पनि हानिकारक हुने भन्दै सरकारले घर भित्रमा नै रहन अनुरोध पनि गरेको थियो । त्यति बेला वायु गुण सूचकांक ३०३ सम्म पुगेको थियो । यो सूचकांक १०० भन्दा बढी भएमा स्वास्थ्यलाई हानिकारक हुन्छ । यी सबै विपदलाई अल्पीकरण गर्न विभिन्न विधिको प्रयोग गरेको पाइन्छ । तर पोखरी उत्खनन गरेको खण्डमा यी चारै विपदलाई एकै पटक समाधान गर्न सकिने हुन्छ ।

भर्खरै भारतमा कोरोनाले वितण्डा मचाएको बेलामा माहाराष्ट्र तथा गुजरातमा ताउक्ते समुद्री आधीको आगमनले झन असुविधा सिर्जना गरेको थियो। नेपालमा पनि अहिले कोरोना बढी रहेको र यो असार श्रावणमा चरमोत्कर्षमा पुग्ने भविष्यवाणि भएको छ । यही समयमा बाढी र पहिरो पनि बढ्ने भएकोले नेपालको अवस्था एकदम नै दुःखदायी हुने अनुमान गरिएको छ । एक तिर कोरोनाले दुःख दिएको र देशमा बन्दा बन्दि भएर विशेष गरेर आज श्रम गरेर आजै जीविका गर्ने मानिसलाई हात मुख जोड्न पनि गाह्रो भएको छ । त्यसकारण उनीहरूलाई रोजगारी दिनु पर्ने पनि अवस्था सिर्जना भएको छ । झन अहिले भारतबाट ठूलो संख्यामा मानिस आएकाले उनीहरूलाई पनि रोजगारीको आवश्यकता छ । पोखरी उत्खननले उनीहरूलाई रोजगारी सजिलै सित दिन सकिने छ ।

२.०. पोखरी उत्खनन
पोखरी उत्खनन पुरानो प्रविधि हो । चाणक्यले आज भन्दा २३०० वर्ष अगाडिनै शहरमा जलाशयको निर्माण गर्ने सुझाव दिएका थिए । त्यसैले नेपाल उपत्यकाका विभिन्न शहरमा पोखरी पाइन्छ । त्यसै गरी मधेशमा पोखरी र पाहाडमा आहाल बनाउने चलन थियो । यसले बाढी आउन नदिने, आगलागी भएको बेला पानी उपयोग गर्न सकिने र बाह्रै मास पानी उपलव्ध गराउने जस्ता फाइदा दिएको हुन्छ । समतल ठाउ‘मा ठूला ठूला पोखरी खन्न सकिन्छ । तर पाहाडी भेखमा ४.४ मिटर बर्गका १.५ मिटर गहिरा पोखरी बढी व्यवहारिक हुन सक्तछन् ।
अहिले पोखरीबाट पानी नचुहोस भनेर जियो टेक्सटाइल जस्ता विभिन्न सामाग्रीको प्रयोग गरेको पाइन्छ । तर पहिले पोखरीमा लिसाइलो माटो राखेर पानी नचुहुने व्यवस्था गरिन्थ्यो । यस्तो माटोको परिमाण नेपालमा ३८ प्रतिशत छ । यसमा रातो माटो पनि पर्दछ जसमा पनि रोक्न सक्ने क्षमता हुन्छ । यो नेपालको अधिकांश स्थानमा प्राप्त हुने भएकोले पोखरीको पि‘ंधमा राख्न सकिन्छ । यस्तो खालको माटो सुनसरी जिल्लाको जंगलमा पनि पाइने र यसको माथ्लो पत्रले ५० प्रतिशत पानीलाई चुहुन नदिने कुरो अध्ययनबाट थाहा भएको छ । पानी रोक्ने तथा चुहिन दिने खालको अवस्था आवश्यक भएकोले यो उपयोगी नै छ ।

२.१. पोखरी उत्खननबाट बाढीको रोकथाम
चीन तथा जापानमा पनि परापूर्व काल देखि नै बाढीको रोकथामको लागि पानी पोखरीमा जम्मा गरेर यसलाई नहरद्वारा जग्गाको सिं‘चाइ गर्ने गरेको देखिन्छ । लुुुम्विनीको गुरुयोजना बनाउ‘दा जापानका वास्तुकार केन्जो टांगेले त्यस्तै खालको विधिको प्रयोग गरेका थिए । लुम्विनीमा हरहरा तथा तेलार नदीले गर्दा बाढी आउने हुनाले उनले यस्तो प्रविधि अपनाएका थिए । भिन्न भिन्न स्थानमा सिमान्त रूपमा फरक परे पनि ०.५ प्रतिशत जमिनमा पोखरी खने बाढी नआउने केही अध्ययनले देखाएका छन् ।
नेपालमा पानी पहिले पाहाडमा परेर त्यस पछि खोल्सामा जान्छ । खोल्साको पानी खोलामा मिस्यिन्छ र यस पछि कोशीमा संग्रहित हुन्छ । यसले मदेशमा बाढी आएको बहुुधा देखिन्छ । यदि पाहाडमा पर्ने केही पानीलाई पाहाडमा नै रोक्न सकियो भने बाढी जाने संभावना कम हुन्छ ।

२.२. पोखरी उत्खननबाट पहिरोको रोकथाम
पहिरो पहाडी क्षेत्रमा बढी आउने गर्दछ । पाहाडमा यसको टुप्पामा या यसको नजिक भन्दा पनि अलिक तलतिर खोल्सा बनेर त्यसको वरि परि पहिरो गएको देखिन्छ । यो किन भएको हो भने पानीको गति पाहाडको टुप्पामा बढी ह‘ुदैन । अलिक तलितिर गएपछि गुरुत्वले गर्दा पानीको गति तथा परिमाण दुबैमा वृद्धि हुने भएकोले पाहाडको जति तल गयो त्यत्ति खोल्सा चौडा हुने र पहिरो जाने गर्दछ ।

पोखरीको निर्माण गरेमा पानी यसमा पसेर भलको मात्रा तथा गति कम हुन्छ । जसरी वर्षाको सुरुमा पानीको मात्रा र यसको गति दुबै कम हुने हुनाले पहिरो जादैन, त्यसै गरी पोखरीको निर्माणले पहिराको मात्रामा पनि कमि हुन्छ । पानी पोखरीमा रहेर खोल्सामा नगएपछि खोल्साको सेरोफेरोमा पनि पहिरो जॉदैन ।

हुन त पाहाडमा पोखरी बनाउनाले झन पहिरो जानु पर्ने जस्तो लाग्दछ । तर यो सहि होइन किनभने पोखरीले पानीको गतिलाई कम गर्दछ । पोखरीको पानी यसको तलतिर तथा चारैतिरबाट रसाएर चारै दिशामा फैलिन्छ तर यसले पहिरो नै ल्याइ हाल्दैन । बरु जमिनलाई बाह्रै महिना रसिलो बनाएर राख्दछ ।

नेपालमा सानो तिनो पहिरो वर्ष भरी नै गएको देखिन्छ । हि‘उदमा सुखा पहिरो गएको हुन्छ । तर धेरै जसो पहिरो असारमा सुरु भएर श्रावणमा उत्कर्षमा पुगेको देख्न सकिन्छ । भदौमा पनि असारको जस्तै मध्यम खालको पहिरो गएको हुन्छ ।

सन २००५ देखि सन २०१७ सम्मको असार श्रावणको वर्षालाई अवलोकन गर्दा सबै भन्दा बढी ८५० मिमि वर्षा सन २००७ मा र सबैभन्दा कम ४०० मिमि सन २०१४ मा परेको देखिन्छ । औषतमा लिदा प्रति महिना ३१२ मिमि अर्थात पति दिन १० मिमि पानी पर्दछ । यो अवधिमा जेठमा २.४९, असारमा ८, श्रावणमा १३ र भदौमा १९ मिमि प्रति दिन पानी वाष्पीकरण भएर जान्छ । यदि यो पानी समान तरिकाले दिन भरी पर्ने भए वाष्पीकरण भएर जाने थियो । यसो भएको भए बाढी तथा पहिरो आउने थिएन । तर बाढी र पहिरो त हरेक वर्ष आइ नै रहेको हुन्छ । छोटो समयमा धेरै पानी पर्नाले यस्तो भएको हो । यसको लागि पोखरी बनाउनाले पानी त्यसमा रहने र बेगले तल जान नपाउने भएकोले पोखरीले पहिरोको रोक थाम गर्दछ ।
पानी जोडले परेको बेला पोखरीमा पानी पसेर तिव्रताका साथ तल तिर बग्दैन । यसले पहिरो नजानलाई सहयोग गर्दछ । केही समय पछि आउने वर्षाको लागि पोखरीबाट पानी चुहेर आधा भई सकेको हुन्छ । यसले नयॉ पानीलाई संकलन गरी रहेको हुन्छ भने पुरानो पानीलाई चुह्यिन पनि दिई रहेको हुन्छ । चुह्येको पानीमा गति नहुने भएकोले यसले बग्ने पानीले जस्तो पहिरो ल्याउ‘दैन ।

वर्षाको अन्तिम तिर भने पोखरीमा पानी रही नै रहन्छ किन भने वरिपरिको जमिन पानीले भरपूर हुन्छ । यो पानी बाकी समयमा रही रहन्छ । यसलाई पानी नभएको बेला सि‘चाईको लागि प्रयोग गर्न सकिन्छ ।

२.३. पोखरी उत्खननबाट डढेलोको रोकथाम
डढेलो लाग्नुका प्रमुख कारणमा तापक्रम तथा वायु गतिमा वृद्धि र आद्रतामा कमि जस्ता कारक पर्दछन् । पोखरी भएको स्थानमा तापक्रममा कमि तथा आद्रतामा वृद्धि हुने तथ्य अनुसन्धानबाट रहष्योदघाटित भएको छ । डढेलो लागेकै समयमा पोखरीमा पानी हुने भएकोले यताबाट आउने डढेलोलाई पानीले निभाइ दिन्छ । त्यसकारण पोखरी खन्नाले डढेलोलाई पनि रोक थाम गर्दछ ।

२.४. पोखरी उत्खननबाट प्रदूषणमा कमि
नेपालमा बाह्रै महिना प्रदूषण बढेको पाइन्छ । डढेलोले झन यसलाई बढाएको हामीले गत वर्ष देखीसकेका छौं । तर पोखरीले तापक्रमलाई कम गर्नुका साथै आद्रतालाई बढाएर डढेलोलाई हुन दि‘दैन । यदि भएकै खण्डमा पनि पोखरीको पानीले यसलाई निभाउ‘छ । त्यसकारण पोखरी उत्खननले डढेलोलाई पनि रोकथाम गर्दछ ।

३.०. पोखरी उत्खननको विधि
उत्खनन कार्य साधारण हो । नाप अनुसारको जमिनमा ४.४ मि लम्वाइ, ४.४ मि चौडाइ तथा आधारमा २.५ मि लम्वाइ, २.५ मि चौडाइ र १.५ मिटर गहिराइ भएको पोखरी नक्सामा देखाए जस्तो गरी खनिनु पर्दछ । यसको चारै तिर ६० डिग्रि जति हुने किसिमले भिरालो बनाउनु पर्दछ । यसको आधारमा तथा भिरालोे भागमा चिम्टि माटो हाल्नु पर्दछ । यसको माथि दुबोको चपरिले ढाक्नु पर्दछ । यस्तो पोखरी २ रोपनी जग्गामा एउटा बनाउनु पर्दछ । विशेष गरेर खोल्साको दाया, बाया, तल तथा माथि बनाउनाले यसले बाढी, पहिरो, डढेलो तथा प्रदूषण सबैलाई कम गर्दछ ।

नेपालमा ३८ प्रतिशत जंगल रहेको छ । जंगली स्थानमा पोखरी खन्न गाह्रो हुदैन । किनभने यसमा कसैको पनि नीजि जग्गा पर्दैन । चिम्टे माटो पनि पाइन्छ । त्यसै गरी दुबोको चपरि पनि खोज्न टाढा जानु पर्दैन । तर वस्तिको तल्तिर मास्तिर पोखरी बनाउन गाह्रो हुन सक्तछ । वस्ति भएको स्थानमा पनि सरकारी जग्गा विद्यमान रहन्छन् । यस्ता जग्गामा पोखरी बनाउन सकिन्छ । यदि यो संभव भएन भने वस्तिको मास्तिरबाट भल काटेर तथा देखिएका चिरा पुरेर पहिरोबाट सुरक्षित हुन सकिन्छ । मधेशमा पोखरीमा माछापालन गरेर धान उत्पादन भन्दा ४० गुणा बढी आर्जन गर्न सकिन्छ । देशको क्षेत्रफल १,४७,५१६ को ०.५ प्रतिशतले हुन आउने ७३५ वर्ग कि मि पोखरी खन्न सक्यो भने बाढी, पहिरो, डढेलो तथा प्रदूषणलाई सदाको लागि समाधान गर्न सकिन्छ । यसको लागि एउटा स्थानीय सरकारले १ वर्ग कि मि पोखरी निर्माण गर्नु पर्दछ । उपर्युक्त नापको एउटा पोखरी खन्दा प्रति वर्ग मि रु ३५० पर्दछ र यसको लागि २ जना अर्ध प्रवीण र ३ जना श्रमिकको आवश्यकता पर्दछ ।

पोखरी को नक्सा

४.०. निष्कर्ष
नेपाल एक मात्र नभई अनेक प्राकृतिक विपदबाट हरेक वर्ष प्रभावित हुने गरेको छ । यसमा बाढी, पहिरो, डढेलो तथा प्रदूषण मुख्य छन् । पोखरी खनेको खण्डमा यिनीहरूलाई सहजताका साथ सामना गर्न सकिन्छ । किनभने पानी परेको स्थानमा नै रोकिएर रहने भएकोले बाढी कम आउने, पानीको गति बढी नहुने हुनाले पहिरो कम जाने, तापक्रम कम र आद्रता बढी हुने भएकोले डढेलो कम लाग्ने र डढेलो नलागेपछि प्रदूषणमा पनि वृद्धि नहुने हुनाले यो प्रविधि सारै उपयोगी हुन सक्तछ । यसको लागि खाली खन्ने तथा दुवोको चपरिले पुर्ने जस्ता साधारण श्रमिकले पनि गर्न सक्ने दुइवटा काम मात्र गर्नु पर्दछ । हरेक दुई रोपनीको बीचमा १० घन मिटर जति क्षेत्रफलको पोखरी खन्नाले यो उद्देश्यको परिपूर्ति हुन सक्तछ ।


References

Chundi Chen et al, 2016, Incorporating landscape connectivity into household pond configuration in a hilly agricultural landscape, International Consortium of Landscape and Ecological Engineering and Springer Japan

D Scott Munro et al, 1997, Rainfall, evaporation and runoff responses to hillslope aspect in the Shenchong Basin, Catena, 29(1997), 131-144

Gautam Tilak, 2013, Soil Characteristic in moist tropical district of Sunsari, Nepal Journal of Science and Technology

Kumar Monoj et al, 2015, Environmental Perspectives of Pond Ecosystems: Global Issues, Services and Indian Scenarios, Current World Environment, Vol 10(3), 848-867

Sharma Til Prasad Pangali et al, 2019, Review of Flood Disaster Studies in Nepal, International Journal of Disaster Risk Reduction, 34(2019), 18-27

Tomasweski et al, 2005, The impact of cooling ponds in north central Texas on Dairy Farm Performance, Journal of Dairy Science, Volume 88, Issue 6, p 2281-2286

Wei et al, 2007, The effect of land uses and rainfall regimes on runoff and soil erosion in the semi-arid loess hilly area, China, Journal of Hydrology, Elsivier

Copyright @2020 Nepal Centre for Disaster Management. Site By Binay Bajagain